नाबालिग बलात्कारको आरोप लागेका नायक पल शाहविरुद्धको मुद्दामा अधिवक्ताहरुको बहस अहिले जारी छ ।
मतियारकारूपमा पक्राउ परेका उनका म्यानेजर कृष्ण जोशीका कानून व्यवसायीले पनि बहस गरेका छन् ।
जिल्ला अदालत तनहुँले आजै बहस सकाएर थुनछेक आदेश जारी हुन सक्ने तनहुँका वैतनिक वकिल शिवराज काफ्लेले बताए । उक्त आदेशले धरौटीमा छुट्ने, पुर्पक्षका लागि थुनामा जाने वा तारेखमा छुट्ने फैसला गर्नेछ ।
सरकारी वकिलको कार्यालय तनहुँले गएको मंगलबार अदालतमा मुद्दा दायर गरेको थियो । पीडितले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।
शाहले बलात्कार गरेको भन्दै ती नाबालिग गायिकाले तनहुँ र गैंडाकोटमा उजुरी दिएकी थिइन् । ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेपछि शाह १५ फागुनमा आफैं प्रहरीसमक्ष उपस्थित भएका थिए ।
१७ वर्षीया किशोरी गायिकालाई उनले विवाह गर्छु भन्दै अनेक प्रलोभनमा पारेर यौन शोषण गरेको पीडित पक्षले जाहेरीमा आरोप लगाएका छन् । स्रोतका अनुसार आफूविरुद्ध भएको यौन शोषण बाहिर ल्याउन किशोरीले पटक पटक प्रयास गरे पनि पलले अनेक कुरा गरेर उनलाई फकाएका थिए ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।