मध्य अमेरिकी मुलुक एल साल्भाडोरमा शनिबार एकैदिन ६२ जनाको हत्या भएको छ । एकैदिन यति धेरै मानिस मारिएपछि त्यहाँ संकटकाल घोषणा गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।
‘यो शनिबार, मार्च २६ को दिन राज्यमा ६२ जना मारिएका छन्,’ नेसनल सिभिल प्रहरीले ट्विटरमा लेखेको छ । यी हत्याका पछाडि विभिन्न ग्याङको हात रहेको आरोप लगाइएको छ ।
‘ग्याङविरूद्धको लडाइँमा हामी पछि हट्ने छैनौं, यस घटनाका जिम्मेवार व्यक्तिलाई नसमातेसम्म र न्याय नदिलाएसम्म हामी चुप लाग्ने छैनौं,’ प्रहरीको उक्त ट्विटमा उल्लेख छ ।
प्रहरीका अनुसार ला लाइबरटाडमा मात्रै १२ जना मारिएका छन् । राजधानी स्यान साल्भाडोर र अहुआछपनमा नौ–नौ जना मारिएका हुन् ।
घटनापछि शनिबार नै प्रहरी र सेनाले मारा साल्भाट्रुछ (एमएस–१३) ग्याङका कयौं नेताहरूलाई पक्राउ गरेको थियो । त्यसपछि त्यहाँ थप हिंसा भड्किने आशंकापछि राष्ट्रपति नयिब बुकेलेले सांसदहरूलाई संकटकाल घोषणा गर्न माग गरेका थिए । आइतबार त्यहाँ संकटकाल घोषणा गरिएको छ ।
राष्ट्रपति बुकेलेले ट्विटरमार्फत् एक विज्ञप्ति जारी गर्दै एजेन्ट तथा सैनिकलाई आफ्नो काम गर्न दिनुपर्ने बताएका छन् । गत नोभेम्बरमा मात्रै त्यहाँ तीन दिनमै ४५ जना मारिएका थिए ।
एल साल्भाडोरमा एमएस–१३ र बार्रियो–१८ दुई वटा प्रमुख ग्याङ छन् । जसका ७० हजार बढी सदस्य रहेको अधिकारीहरूको भनाइ छ । उनीहरू हत्या, ठगी, लागु औषधको कारोबारमा संलग्न छन् ।
सन् २०२१ मा मात्रै राज्यमा ११४० जना मारिएका थिए । सन् २०१९ मा निर्वाचित भएका बुकेलेले संगठित अपराधविरूद्ध लड्ने र देशलाई सुरक्षित बनाउने बताएका थिए । एजेन्सी