गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा एक सय कोठा क्षमता भएको वृद्धाश्रम बनाउने घोषणा गरेको छ । संघको नवनिर्वाचित कार्यसमितिको ८४औं बैठकले पशुपति क्षेत्रमा उक्त आश्रम बनाउने निर्णय गरेको हो ।
उक्त परियोजना सम्पन्न गर्नका लागि अध्यक्ष कुल आचार्यको एक करोड र बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूबाट तीन करोड ५६ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता प्राप्त भएको संघले जनाएको छ ।
बैठकले संघको आगामी कार्यकाल संचालनका लागि कार्यविधि तयार गर्न उपाध्यक्ष हेमराज शर्माको नेतृत्वमा महासचिवद्वय गौरीराज जोशी र केशव पौडेल, प्रवक्ताद्वय सोम सापकोटा र शिवकुमार बरुवाल रहने गरी कार्यदल गठन गरिएको छ ।
संघका राष्ट्रिय समिति (एनसीसी)हरूमा भएका समस्या समाधानका लागि महासचिवद्वय जोशी र पौडेललाई क्षेत्रीय संयोजकहरूसँग समन्वय गरी समाधान गर्ने जिम्मा दिने निर्णय भएको छ ।
संघका नवनिर्वाचित अध्यक्षहरू बद्री केसी, कुल आचार्य र रविनाद्वारा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू (आईसीसी सदस्यहरू) लाई शपथ ग्रहण गराएका छन् ।