नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न आइतबार पनि सार्वजनिक बिदा दिन सरकारसँग प्रस्ताव गरेको छ ।
निगमले सरकारसँग पेट्रोलियम पदार्थको खपत कम गर्न विभिन्न १० बुँदे प्रस्ताव पेश गर्दै आइतबार पनि सार्वजनिक बिदा दिन सरकारसँग प्रस्ताव गरेको छ ।
त्यस्तै, सरकारी र निजी सवारी साधनमा जोर विजोर लागू गर्न प्रस्ताव गरिएको छ ।
यसका साथै विद्युतीय सवारीसाधनको आयातलाई प्रोत्साहन दिने, खाना पकाउने ग्यासको विकल्पमा बिजुलीको प्रयोग गर्ने विषयमा सरकारबाटै आह्वान गर्नुपर्ने माग निगमले गरेको छ ।
ठूला पूर्वाधार र परियोजनामा पनि बिजुलीको खपत बढाएर पेट्रोलियम पदार्थको खपत कम गर्ने र छोटो दूरीका सवारीसाधनको प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्न माग गरिएको छ । जुनसुकै प्रकारका सवारीमा पनि सिट क्षमताअनुसार यात्रु बोक्न पाउने व्यवस्था गर्नुपर्ने माग आयल निगमले गरेको छ ।
इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा सरकारले प्रतिलिटर १५ रुपैयाँ घटाउनुपर्ने निगमको माग छ । इन्धनको करसँगै एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ शुल्क मिनाहा गर्नुपर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्नुपर्ने निगमले जनाएको छ ।