विवेकशिल साझा पार्टीमा फेरि विवाद चर्किएको छ । अध्यक्ष रविन्द्र मिश्रले पार्टीलाई राप्रपासँग विलय गराउन खोजेको तथा एकलौटी रुपमा निर्णय गर्न थालेको भन्दै विवेकशिलमा फेरि विवाद चर्किएको हो ।
आइतबार केन्द्रीय समिति बैठकमा मिश्रले प्रदेश संयोजकहरु तोक्नुका साथै २६ जना केन्द्रीय सदस्यलाई निष्कासन गरेका थिए ।
त्यसपछि विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले अध्यक्ष मिश्रलाई निस्कासन किन नगर्ने भनेर ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसबारे जानकारी दिन असन्तुष्ट पक्षले मंगलबार पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
तर, अध्यक्ष मिश्र पक्षले कर्मचारीबाहेकका लागि कार्यालय बन्द गरेको सूचना टाँस गरेपछि त्यहाँ केहीबेर झडपको स्थिति बनेको थियो ।
तनावपछि पार्टी केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
असन्तुष्ट समूहका नेता तथा संगठन विभाग प्रमुख निर्देश सिलवालले अध्यक्ष मिश्रले आफूहरूलाई भ्रममा राखेर पार्टीलाई राप्रपामा विलय गराउन खोजेको तथा एकलौटी निर्णय गरेकोले पार्टीमा समस्या आएको बताए ।
तर, पार्टी प्रवक्ता शरदराज पाठकले भने असन्तुष्टका नाममा हुलहुज्जत गरेर सुसंस्कृत राजनीतिलाई विकृत तुल्याउन खोजिएको बताए ।
पछिल्लो एक वर्षदेखि विवेकशिल साझा पार्टीमा विवाद देखिँदै आएको थियो । अध्यक्ष मिश्रले मिनल पाण्डे समूहलाई पार्टीबाट निष्कासन गरेपछि विवाद मत्थर भएको थियो ।
तर, अध्यक्ष मिश्रविरुद्व असन्तुष्ट समूहले समानान्तर कार्य गर्न थालेपछि विवेकशिलमा फेरि विवाद चर्किएको हो ।