कञ्चनपुरको बेदकोट नगरपालिका पूर्ण साक्षर नगर घोषणा भएको छ । सबै वडा साक्षर भएपछि मंगलबार नगरपालिकालाई पनि साक्षर घोषणा गरिएको हो ।
बेदकोट नगरपालिकाका वडाहरुलाई गत वर्षदेखि साक्षर घोषणा सुरु गरिएको हो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी साक्षर भएर साक्षर घोषणा गर्न सकिन्छ । तोकिएको उमेर समूहका ४५ हजार ३०६ मध्ये साक्षरता प्रतिशत ९७ दशमलव ६५ प्रतिशत पुगेको बेदकोट नगरपालकाकी शिक्षा शाखा प्रमुख मञ्जु थापाले बताइन् ।
कुनै पनि व्यक्तिलाई साक्षर घोषणाका लागि वर्ष अक्षरको लेखाई र पढाई गर्न सक्ने, मातृभाषामा लेखिएको मूल्यसुची र बिल पढ्न सक्ने, परिवारका सदस्यको नाम लेख्न सक्ने, मोबाइल र क्याल्कुलेटरका अंक चिन्न तथा थिच्न सक्ने, ० देखि ९ सम्मका अंक चिन्न र लेख्न सक्ने, १ देखि १०० सम्मका अंक गणना गर्न सक्ने लगायतका १२ वटा सूचकहरु पूरा गर्नुपर्ने हुन्छ ।