डोटीका बाढीपीडितले सुदूरपश्चिम प्रदेश सरकारबाट नगद सहयोग पाएका छन् । बाढीपहिरामा परी ज्यान गुमाएका १६ जनाको परिवारकालाई सुदूरपश्चिम सरकारले जनही एक लाख रुपैयाँ प्रदान गरेको हो ।
बाढीपहिरोबाट ज्यान गुमाएका १६ जनाका ११ परिवारलाई नगद एक–एक लाख राहत दिइएको डोटीका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए । उनीहरुको बैंक खातामा गत आइतबार नै नगद पठाइसकेको उनले उल्लेख गरे ।
करिब चार महिनापछि प्रदेश सरकारबाट राहत पाएसँगै स्थानीयवासी खुसी भएको विष्टले बताए । तर उनीहरुले प्रत्येक परिवारलाई ३० हजार र ज्यान गुमाएका व्यक्तिको प्रति परिवारलाई एक लाख रुपैयाँ दिनुपर्ने माग गर्दै आएका छन् । उनीहरुको मागअनुसार राहत दिन नसकेको भने प्रजिअले स्वीकार गरे ।
सिडिओ विष्टका अनुसार बाढीपहिरोबाट भत्किएका संरचनाहरु पुनर्निर्माण भइरहेका छन् । बाढीले स्थानीयवासीको खेतसमेत कटान गरेकाले खेतिपाती लगाउन समस्या भइरहेको छ । अहिले पनि जोखिम कायमै रहेको भन्दै प्रभावितहरुले बस्ती स्तान्तरणको माग गरेका छन् ।
जिल्लामा सरकारबाट आउने थप अनुदानका लागि पीडितहरुको तथ्याङ्क संकलन भइरहेको विष्टले जानकारी दिनुभयो । गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढीपहिरोमा परी १६ जनाले ज्यान गुमाएका थिए । यस्तै, धेरै घर परिवार विस्थापित भएका थिए ।