नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएपछि पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहको निवेदन बुधबार उच्च अदालत पोखराको पेसीमा चढ्ने भएको छ ।
तत्काल प्राप्त प्रमाणबाट शाहले जबरजस्ती करणी गरेको देखिएको भन्दै तनहुँ जिल्ला अदालतले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
तनहुँ जिल्ला अदालतको उक्त आदेशविरुद्ध शाहको तर्फबाट मंगलबार उच्च अदालत पोखरामा पुनरावेदनको निवेदन दर्ता गरिएको थियो । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनु पर्ने भन्दै शाहले उच्च अदालतमा निवेदन दिएका थिए ।
उच्च अदालत पोखराका सूचना अधिकारी उपरजिष्ट्रार विष्णुप्रसाद आचार्यका अनुसार शाहका तर्फबाट तनहुँ जिल्ला अदालतको थुनछेक आदेश बदर गरी साधारण तारेखमा रिहाइ गरिपाउँ भन्दै निवेदन परेको हो ।
शाहले मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम थुनुवाका तर्फबाट निवेदन परेको हो । उनको निवेदन बुधबार आज उच्च अदालतको पेशी सूचीमा चढ्ने सूचना अधिकारी आचार्यले बताए ।