गोली हानी एक व्यक्तिको हत्या गरेर फरार रहेका अपराधी १४ वर्षपछी पक्राउ परेका छन् ।
पर्सा जिल्लाको महुवनका कुचन साह कानुको गोली हानी हत्या गरेका पर्सा जिल्लाकै विरगञ्ज उपमहानगरपालिका वडा नं.२१ पटेल नगरका ४० वर्षिय रविन्द्र पटेल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०६४ भदौ ९ गते पटेलले कानुकोे हत्या गरेका थिए । हत्या पश्चात फरार रहेका उनलाई पर्सा जिल्ला अदालतले २०७१ अषाढ १७ गते कसुरवार ठहर गर्दै १९ बर्ष ११ महिना २२ दिन कैद सजाय तोकेको थियो ।
अपराधिक पृष्ठभुमीका पटेल घटनापछी ‘अण्डरग्राउण्ड’ भएका थिए । उनी पर्दा पछाडीबाटै पर्सा जिल्लामा अपराधका घटनाहरु घटाईआएका थिए ।
प्रहरीका अनुसार कानुको हत्यागरी फरार भएका पटेलको संलग्नता अन्य घटनाहरुमा समेत खुलेको छ ।
२०६५ असोज ३ गते जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत मोहन मैनालीलाई गोली हानी हत्या गरिएको घटनामा समेत पटेलको संलग्नता रहेको प्रहरीले बताएको छ ।
त्यस्तै २०६६ ज्येष्ठ १३ गते वायोटेक प्रा.ली.मा कार्यरत प्रशासकीय अधिकृत सोचन प्रसाद यादव माथि बम प्रहार भएको घटनामा समेत पटेलको संलग्नता रहेको प्रहरीको भनाई छ ।
ति घटनाहरुमा संलग्न रहेको र अदालतबाट सजाय समेत पाईसकेर फरार रहिआएका पटेललाई प्रहरीले आज (विहिवार) विरगञ्ज १४ स्थित गण्डक एरियाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पटेललाई आजै पर्सा जिल्ला अदालतमा हाजिर गराई कानुनी प्रक्रिया अगाडी बढाईने पर्सा प्रहरीले जनाएको छ ।