चैत कृष्ण औँसीका अवसरमा काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाएको छ । जात्राको अवसरमा नेपाली सेनाले काठमाडौँको टुँडिखेलमा आज विशेष कार्यक्रमको आयोजना गरी घोडेजात्रा पर्व मनाएको हो ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।

पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिएको थियो ।




