भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार हैदरावाद हाउसमा आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्दै छन् ।
आज दुई पक्षबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । प्रधानमन्त्री मोदीले आफ्ना समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रधानमन्त्री देउवा र भारतका मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि शनिबार दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेछ । वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ।
नेपाली राजदूतावासमा शुक्रबार साँझ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने जानकारी दिएका थिए ।
नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको उनले बताए ।
भेटवार्ता उपलब्धिमूलक हुने विश्वास
आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्धले थप उचाइ हासिल गर्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् । भारत भ्रमणको पहिलो दिन शुक्रबार भारतस्थित नेपाली दूतावासमा आयोजित रात्रि भोजका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आज हुने भारतीय प्रधानमन्त्री मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने बताए थिए ।
यस्तो छ भ्रमण तालिका ?
आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएपछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने र त्यसपछि संयुक्त विज्ञप्ति जारी गरिने कार्यतालिका रहेको छ ।
शनिबार नै दिउँसो ४ः३० बजे भारतका उपराष्ट्रपतिसँग प्रधानमन्त्री देउवाले शिष्टाचार भेट गर्नेछन् । आइतबार भोलि बिहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने र वाराणासीबाट पुनः नयाँ दिल्ली आएर ४ः१५ बजे स्वदेश फर्कने प्रधानमन्त्री देउवाको कार्यतालिका रहेको छ ।