नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसका केही स्वार्थी व्यक्तिहरुले आफुलाई मधेस विरोधी भएको हल्ला फिँजाएको बताएका छन् ।
मधेसको नाममा राजनिती गरेर मधेसकै नागरिकलाई ठग्ने तत्वहरुका कारण मधेस पछाडी परेको भन्दै ओलिले नेकपा एमालेले मात्रै मधेसी जनतको विकाश अधिकारको सुनिश्चित्तता गर्ने बताएका हुन् ।
आज (मंगलबार) विरगञ्जमा आयोजित वृहत पार्टी प्रवेश तथा जनसभामा बोल्दै उनले आफु ६० वर्षदेखि मधेसको वासिन्दा रहेको समेत बताएका छन् ।
‘केपी ओली मधेस विद्रोही भनेर हल्ला चलाएर यहीँका केही स्वार्थी मानिसले राजनिती गर्न खोजे’, उनले प्रश्न गरे– ‘६० वर्षदेखि म मधेसको बासिन्दा हुँ, भैंसीको पिठ्युमा कसरी बसिन्छ मलाई थाहा, खोलाबाट पैनी खनेर कसरी खेतमा पुर्याउनुपर्छ मलाई थाहा छ, हलो कसरी जोतिन्छ मलाई थाहा छ, अनि म मधेस विरोधी ?’
मधेसको विकासका लागि सँधै गम्भीर रहेर आफु प्रधानमन्त्री हुँदा कयौं योजनाहरु सम्पन्न गरेको जनाउँदै ओलिले आफूलाई मधेस विरोधीको आरोप लगाए पनि केही फरक नपर्ने बताए ।
‘भन्नेले मलाई मधेस विरोधी भन्दै गरे तर मैले ढल्केबर जनकपुर सडक बनाए, मरिन सुनकोशी डाइभर्सन योजना सुरू गर, वषौदेखी ओझेलमा परेको हुलाकी राजमार्गको काम शुरु गरेंं’ उनले भने– ‘तराईका खेतमा सिँचाइ गर्ने म केपी ओली अनि केपी ओली मधेस विरोधी कसरी ?’
यसैबिच ओलिले विरगञ्जमा ३ वटा पालिकाका उपप्रमुखहरुलाई एमालेमा भित्राएका छन् । उनले पर्साको बहुदरामाई नगरपालिकाकी उपप्रमुख गायत्री देवी यादव, सुखवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी थरुनी तथा धनुषाको विदेह नगरपालिकाकी उपप्रमुख निलम मण्डललाई पार्टीं प्रवेश गराएका हुन् ।