एसियाली विकास बैंक (एडीबी) ले नेपालको चालु आर्थिक वर्ष २०७८/७९ (सन् २०२२) मा आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।
बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै (एडीबी) ले नेपालको चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।
सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ ।
कोरोना महामारीविरुद्ध खोप अभियान जारी रहेको, आर्थिक गतिविधिहरु क्रमशः सामान्य बन्दै गएका कारण नेपालले ३.९ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्ने एडीबीको प्रक्षेपण छ ।
युक्रेन–रुस युद्धका कारण विश्वव्यापी रुपमा आएको आर्थिक मन्दी, अवरुद्ध व्यापार प्रवाह, कच्चा तेल तथा अन्य वस्तुको मूल्यले मुद्रास्फीतिमा चाप पर्ने भएकोले सरकारले अनुमान गरेको ७ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नरहेको बताइएको छ ।
आगामी आर्थिक वर्षबाट नेपालको आर्थिक विकासमा सुधार हुँदै जाने प्रक्षेपण एसियाली विकास बैंकले गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतले ऋणात्मक रहेको तथा गत आर्थिक वर्ष २.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएकोमा आगामी आर्थिक वर्ष ५ प्रतिशतको आर्थिक वृद्धि हुने एडीबीले जनाएको छ ।
यसैगरी नेपालको मुद्रास्फिति चालु आर्थिक वर्ष ६ दशमलव ५ प्रतिशतको सीमाभित्रै रहने छ ।
कुल गार्हस्थ्य उत्पादनको तुलनामा चालु खाताघाटा बढेर ९.७ प्रतिशत पुगेको एसियाली विकास बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।