भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसकै उम्मेदवार हुनुपर्ने दवाव चितवन काँग्रेसले बढाएको छ ।
महानगर प्रमुखको उम्मेदवार कुन दलको हुने भनेर सत्ता गठबन्धनमा बहस चलिरहँदा चितवन कांग्रेसका नेताहरूले केन्द्रीयस्तरमा आफ्ना नेताहरूमाथि दबाब बढाउन थालेका हुन् ।
आज (बिहीबार) चितवन कांग्रेस सभापतिसहितका नेताहरूले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरको मेयर पद कांग्रेसले छाड्न नहुने उनिहरुले बताएका छन् । स्थानीय स्तरको आवश्यकता र औचित्यका आधारमा पनि भरतपुर कांग्रेसले पाउनुपर्ने भन्दै उनीहरूले कुनै पनि हालतमा छाड्न नसकिने बताएका हुन् ।
भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने भित्री सहमती गरिसकेका काँग्रेस सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाले केहिदिन अघी चितवनका आफ्नै नेताहरुलाई हप्काउँदै गठबन्धनको बिरोध नगर्न निर्देशन दिएका थिए ।
चितवनका नेताहरुसंको भेटपछी वरिष्ठ नेता पौडेलले त्यसलाई गम्भिरतापुर्वक लिएको नेताहरुले बताएका छन् । चितवन कांग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले सत्ता गठबन्धनको स्थानीय तहको निर्वाचनका लागि तयारी तथा अनुगमन समितिको संयोजक समेत रहेका नेता पौडेललाई भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने र यो नै अन्तिम बटमलाइन भएको बताएका थिए ।
पौडेलसँगको भेटपछि चितवन कांग्रेसका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेट्दै छन् । देउवालाई पनि भेटेर चितवन कांग्रेसले गरेको निर्णयबारे जानकारी गराइने श्रेष्ठले बताए ।
जिल्लाका नेताहरु डेलिगेशन लिएरै काठमाडौं आएपछी देउवा दवावमा परेका छन् । गठबन्धनमा रहेका दलहरु जो–जहाँ जितेको छ त्यसलाई त्यहाँ उम्मेदवार बनाउने सहमती गरेका देउवा अहिले दुबिधामा परेका छन् ।
चितवन जिल्लाका सातवटै पालिकामा सत्ता गठबन्धनका दलहरूबीच तालमेलका लागि संयन्त्र बनाएर छलफल भइरहेको छ । महानगर प्रमुख कांग्रेसले पाउनेगरी तालमेल गर्ने पक्षमा चितवन कांग्रेस छ । माओवादी केन्द्र पनि महानगर प्रमुख आफूले पाउने गरी तालमेल गर्ने बताइरहेको छ । महानगर प्रमुखको पदलाई माओवादी केन्द्र र कांग्रेसले प्रतिष्ठाको विषय बनाइरहेका छन् ।