निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता शुक्रबार मध्य रातिदेखि लागू गर्ने निर्णय गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलनमाफर्त आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएको जानकारी दिए ।
आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता आजबाट लागू भएको हो ।
आचारसंहिताअनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन । दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ ।
अब आचारसंहिता लागू भएसँगै वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक भएको छ ।
यसैगरी, योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदानका साथै निर्वाचनको कामबाहेक कर्मचारी सरुवा र पदस्थापनमासमेत गर्न नपाइने आयोगले जनाएको छ ।
आचारसंहिताअनुसार आयोगको अनुमतिबिना सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमण जना नपाउने भएका छन् ।
त्यस्तै, उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको तीन–तीन फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न मात्रै राख्न पाउने प्रावधान रहेको छ ।
स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नुभन्दा ७२ घण्टाअघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने, जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने पनि आचारसंहितामा उल्लेख छ ।
निर्वाचन आचारण संहिता,२०७८ को दफा ३ बमोजिम व्यक्ति, संस्था, निकाय तथा अधिकारीले पालना गर्नुपर्ने आचरण:
(क) सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने,
(ख) आयोगद्वारा सञ्चालित निर्वाचन व्यवस्थापन र मतदाता शिक्षा लगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुने गरी कुनै कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने,
(ग) कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने,
(घ) राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अडित ज्याकेट, कमिज, भेष्ट टि सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, व्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने,
(ङ) घरजग्गा धनीको स्वीकृति नलिई कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन नहुने,
(च) ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाहता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचार प्रसार गर्न वा गराउन नहुने,
(छ) अठार वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न वा गराउन नहुने,
(ज) प्रचलित कानून बमोजिम निषेध गरिएको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा बैठक, भेला वा निर्वाचन प्रचार प्रसार गर्न वा गराउन नहुने,
(झ) सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने,
(ञ) सामाजिक सञ्जालमा गलत भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने,
(ट) निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झूटा साइट र एकाउण्ट सञ्चालन गर्न वा गराउन नहुने,
(ठ) सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, टेषपूर्ण भाषण (पत्र) जस्ता भासक द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टीका टिप्पणी गर्न वा गराउन नहुने,
(ड) कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट गर्न वा गराउन नहुने,
(ढ) कसैको चरित्र हत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने,
(ण) उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार राजनीतिक दलको बा मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने,
(त) कोभिड- १९ वा अन्य महामारी नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकार तथा सम्बन्धित निकायबाट जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको प्रतिकूल हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने,
(थ) निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख, प्रचार प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने,
तर आयोगले तयार गरेको निर्वाचन तथा मतदाता शिक्षा सामग्री प्रकाशन वा पोष्ट गर्न यस खण्डले बाधा पुर्याएको मानिने छैन।
(द) सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी बाहेक कुनै पनि हातहतियार तथा प्रज्वलनशिल पदार्थ बोक्न नहुने,
(ध) कुनै पनि किसिमबाट मतदाताको गोप्यता भंग गर्न नहुने,
(न) मतदाता र मतदानमा खटिएका कुनैपनि कर्मचारीसँग वादविवाद गर्न तथा उनिहरुलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने।
आज आयोगले जारी गरेको विज्ञप्ति हेर्न यहाँ क्लिक गर्नुहोस्ः