यसै हप्ताको शुरुमा नयाँ वित्त मन्त्री नियुक्त पाई २४ घण्टामा राजिनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएको छ। उनलाई गत सोमबार राष्ट्रपति राजपाक्षले अर्थमन्त्री नियुक्त गरेका थिए भने एक दिनपछि राष्ट्रपतिलाई राजीनामा पेश गरेएका थिए। राष्ट्रपतिबाट उनको राजिनामा स्वीकृत भने भएको थिएन।
उनले शुक्रबार संसदमा बोल्दै अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका हुन्। अरु कसैले पनि अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र राष्ट्रपति गोटाबाया राजपाक्षले सबारीको राजिनामा स्वीकृत गर्न नमानेपछि उनले वित्त मन्त्रीका रुपमा निरन्तरता दिने बताएका हुन्।
सबारीले भने, “जस्तोसुकै चुनौती सामना गर्नु परे पनि देशको अर्थतन्त्र बचाउन म अर्थमन्त्रीका रुपमा रहन र आवश्यक काम गर्न तयार छु।” श्रीलङ्कामा आर्थिक संकट, घण्टौँ लामो विद्युत् भार कटौती र इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिमा अभावको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ।