प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र जोगाउने प्रयास गर्दागर्दै गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको आरोप लगाएका छन् ।
आज काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गरिएकोप्रति विरोध गरे । उनले अर्थतन्त्र बुझेको मान्छे अर्थतन्त्र जोगाउन खोज्दा खोज्दै निलम्बनमा परेको टिप्पणी समेत गरे ।
ओलीले अर्थमन्त्री जनार्दन शर्मातर्फ लक्षित गरी ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ भएको टिप्पणी गरे । ‘राष्ट्र बैंकको डेपुटी गभर्नर भएको, अर्थतन्त्र बुझेको मान्छे अर्थतन्त्र जोगाउन खोज्दाखोज्दै निलम्बनमा परेको छ,’ ओलीले भने, ‘धान खाने मुसो चोट पाउने भ्यागुतो भएको छ ।’
बिहीबारको मन्त्रिपरिषद् बैठकले गभर्नरमाथि छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेसँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् ।
साथै ओलीले माओवादीले नियुक्त गरेका न्यायाधीशको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको भन्दै आपत्ति समेत जनाए ।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका घाइतेहरूलाई अनादर गर्दै आफ्नै भाइ नारायण दाहाललाई राष्ट्रिय सभा सदस्य बनाएको समेत ओलीले आरोप लगाए ।