यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ ।
पर्यटन विभागले दिएको जानकारी अनुसार रूस गणतन्त्रका १४ जनासहितको २०४ जनाको टोलीले सगरमाथाको आरोहण अनुमति लिएको हो । यी मध्ये धेरै आरोही रहेका देशहरुमा अमेरिका ५१ जना, बेलायत २५ जना, भारत १५ जना, क्यानडा ११, नेपालका ११ जना, अष्ट्रेलियाका १० जना र चीनबाट नौ जना आरोही छन् ।
आरोही मध्ये ४६ जना महिला र १५८ जना पुरुष छन् । कोरोना महामारीपछि संख्यात्मक रुपमा कम भए पनि धेरै देशबाट आरोहीको सहभागिता छ ।
सगरमाथाबाहेक १७ हिमालमा ३०१ आरोही
यस वर्ष सगरमाथा बाहेक १७ वटा हिमाल आरोहणका लागि ३०१ जना आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन् । विभागले जारी गरेको सूचनाअनुसार यीमध्ये आठ हजार मिटरदेखि छ हजार मिटरसम्मका छन् ।
यी मध्ये ३८ वटा आरोहणदलबाट कञ्चनजंगा, ल्होत्से, नुप्से, धौलागिरि, धौलागिरि एक, आमादब्लमलगायत गरी १७ हिमाल आरोहण गर्ने भएका छन् । सगरमाथासहित यस महिना १८ वटा हिमाल आरोहण हुने पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिए ।
विभागले आरोहण रोयल्टी शुल्क बापत २९ करोड ७४ लाख ३४ हजार रुपैयाँ राजश्व समेत संकलन गरेको छ ।