जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले प्रतिगामी शक्तिलाई तह लगाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका छन् ।
अध्यक्ष यादवले संबिधान विरोधी र संघीयताको मर्मको विपरित लागिपरेका शक्तिलाई परास्त पार्न वर्तमानको पाँच दलीय सत्ता गठबन्धनलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।
रुपन्देहीको मर्चवारमा आज (आईतवार) आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले प्रतिगामी शक्तिहरुलाई कमजोर बनाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताए । उनले जसपा एक्लैपनी चुनाव लड्न सक्षम रहेको बताउँदै परिस्थिती अनुसार राजनितिक परिवर्तहरु हुनसक्ने जनाए ।
‘अहिलेको पाँच दलीय गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो तर गठबन्धन हुन सकेन भनेपनि जसपा एक्लै चुनाव लड्न सक्षम छ’, अध्यक्ष यादवले भने– ‘हामी एक्लै धेरै ठाउँमा जित्न सक्षम छौं, हामीलाई चुनाव जित्न कसैको बैशाखी चाहिँदैन ।’
उनले स्थानिय तहबाटै प्रतिगामी शक्तिलाई पराजित गरी गठबन्धनका उम्मेदवारलाई विजयी गराउनसके लोकतन्त्र थप मजबुत हुने बताए । यादवले गठबन्धनलाई नै निरन्तरता दिन अधिकतम पहल गर्नुपर्नेमा जोड दिए ।
‘गठबन्धनको विजय भयो भने लोकतन्त्र बलियो हुन्छ । गठबन्धन पनि बलियो हुन्छ । सम्मानजनक रुपमा प्रतिनिधित्व हुने गरी गठबन्धन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, यादवले थपे– ‘सकेसम्म गठबन्धन भएरै जानुपर्छ भन्ने हो, त्यसो हुन सकेन भने पनि हामी एक्लै चुनावमा जान तयार छौं ।’
यादवले जसपासहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गरेर जाने सहमति भएको छ । तर कुन पालिकामा कुन दलको उम्मेदवार उठाउने भन्नेमा भने समझदारी भइसकेको छैन ।
चुनावीसभा सहित आयोजित पार्टी प्रवेश कार्यक्रममा यादवले विभिन्न पार्टी परित्याग गरी आएका करिब ४ सय नेता कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका थिए ।