इमरान खान नेतृत्वको पाकिस्तान तेहरीक-ए-इन्साफ(पीटीआई)ले पाकिस्तानको संसद्(नेसनल एसेम्बली) सामूहिक राजीनामा दिने निर्णय गरेको छ ।
नयाँ प्रधामन्त्रीका लागि चुनाव हुनुभन्दा केही समयअघि मात्र पीटीआईले संसद्बाट सामूहिक राजीनामा दिने निर्णय गरेको हो । पिटिआईले संसदमा रहेका १५५ सांसदहरुको सामुहिक राजिनामा दिने निर्णय गरेको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका पीटीआई अध्यक्ष इमरान खानको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले 'आयातित सरकार' को विरोधमा राजीनामा दिने निर्णय गरेको हो । पीटीआई सूचना सचिव फारुख हबिबले ट्विटमार्फत उक्त जानकारी दिएका छन् ।
प्रधानमन्त्री खानविरुद्ध विपक्षीले राखेको प्रस्ताव पारित भएसँगै उनी आइतबारदेखि नै पदमुक्त भइसकेका छन् । पाकिस्तानको संसद् (राष्ट्रिय सभा) आइतबार मध्यरातमा भएको मतदानमा १७४ सांसद उनको विपक्षमा उभिए । ३४२ सदस्यीय पाकिस्तानी संसद्मा भएको मतदानमार्फत आफ्नो पद जोगाउन खानले कम्तीमा १७२ सांसदको समर्थन आवश्यक पर्थ्यो ।
इमरान खानको बहिर्गमनसँगै पाकिस्तानको संसद्ले केही बेरमा नयाँ प्रधानमन्त्री चयन गर्दै छ । विपक्षीहरूले पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शेहबाज सरिफलाई नयाँ प्रधानमन्त्री उम्मेदवार चयन गरिसकेका छन् । नयाँ प्रधानमन्त्रीले सन् २०२३ को अक्टोबरमा अर्को चुनाव नहुन्जेलसम्म सत्ता सम्हाल्नेछन् । शेहबाज पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् ।
सत्ताबाट इमरान खानको बहिर्गमनसँगै पाकिस्तानभर पीटीआईका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।