नेकपा एमालेले स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र परिवार दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ ।
बुधबार थापाथलीस्थित केन्द्रीय कार्यालयमा एमालेले राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको हो ।
सहमति अनुसार कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह लिएर उठ्नेछ । देशभरीका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गेरे उम्मेदवार उठाउने सहमति भएको छ ।
राप्रपा नेपालले उम्मेदवार नभएका ठाउँहरुमा नेकपा एमालेका उम्मेदवार सघाउने र नेकपा एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।
यसैगरी, एमाले र राप्रपा नेपालका जिल्ला कमिटीले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने आ–आफ्नो पार्टी केन्द्रमा उठाउने र केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन हुनेछ ।
यस्तै, एमाले रपरिवार दलबीच सम्भव भएको पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, परिवार दलले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको हो ।
एमाले र परिवार दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा निर्णय गर्ने, परिवार दलका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि परिवार दलमै आबद्ध रहने सहमति भएको छ ।