राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब राजा फर्कने संभावना सकिएको दाबी गरेका छन् ।
नयाँ वर्षको अवसरमा उनले आफ्नो पूरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्तालाई शुभकामना दिँदै अब राजा फर्कने संभावना सकिएको तर धैर्यता रहुञ्जेल राजा बोक्न शुभकामना दिएका छन् ।
उनले भनेका छन्, ‘मेरो पुरानो पार्टी र साथीहरुलाई हार्दिक मंगलमय शुभकामना । राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरुसँग मेरो गुनासो, वैमनस्यता छैन । तपाईंहरुको धैर्यता रहुञ्जेल राजा बोक्नोस्, मेरो शुभकामना छ । विभिन्न कारणवश मैले राजाको एजेण्डा छोडेँ । तितो लाग्ला, अब राजा फर्कने संभावना सकियो ।
उनले पार्टीहरु असफल भए राजा नभएर अर्को पार्टी आउने बताएका छन् । राजा फर्कने अरुनै कारण थिए पनि राजाले नै त्यो बाटो बन्द गरिदिएको थापाको दाबी छ ।
अब असंभव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्न र हिन्दु राष्ट्रलाई वन्धक बनाउन नहुनेमा उनले जोड दिएका छन् ।
उनले राप्रपालाई भनेका छन्, ‘२–३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन । मलाई थाहा छ,अन्ततः तपाईंहरु मेरै बाटोमा आउनुपर्छ । अहिले गाली गलौज र आरोपहरु खेपेर भएपनि तपाईंहरुको लागि म बलियो घर बनाएर राखि दिनेछु । पहिले पनि मैले बनाएकै घरमा तपाईंहरु आएको हो । त्यहाँ अझै केही समय रमाईराख्नोस् ।’
उनले राजाको माया लाग्ने भएकोले राजसंस्थाप्रति सम्मान सदैव रहिरहने उल्लेख गरेका छन् ।