भरतपुर महानगरपालिकाका ५० जना कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।
भरतपुर महानगरपालिकामा माओवादीलाई मेयर दिन लागिएको भन्दै भरतपुर–१७ बेलुवा टोलमा गरिएको कार्यक्रममा ५० जनाले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् ।
सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गर्नेहरुमा पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेलसहित ५० जना रहेका छन् ।
गत बुधबारमात्रै महानगरका वडा सभापतिहरुले भरतपुर महानगरको मेयर पार्टीले नपाए २९ वटै वडामा वडाध्यक्ष र सदस्यका स्वतन्त्र उम्मेदवार खडा गर्ने घोषणा गरेका थिए । उनीहरूले उक्त निर्णय पार्टी सभापति राजेश्वर खनाललाई बुझाएका थिए ।
कांग्रे सभापति शेरबहादुर देउवाले गठबन्धन बैठकमा भरतपुर कांग्रेसलाई दिने बताइसकेका छन् । यद्यपी, निर्णय भने भइसकेको छैन ।
भरतपुर महानगरपालिकामा हालकी मेयर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाललाई फेरि उम्मेदवार बनाउने तयारी छ । तर, त्यसको भरतपुरका कांग्रेस नेता तथा कार्यकर्ताले विरोध जनाउँदै आएका छन् ।
आज बिहान मात्रै भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले भरतपुर महानगरका विषयमा छलफल भइरहेको तर आरामसँग कुरा मिल्ने दाबी गरेका थिए ।