नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको चुनावमा गठबन्धनकै दलबीच पनि प्रतिस्पर्धा हुन सक्ने तर एमालेसँग तालमेल गर्न नपाइने बताएका छन् ।
शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भइरहेका बेला पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘‘कुनै ठाउँमा सहमति भएन । मेरै शक्ति छ, मेरै जनाधार बढेको छ, विपक्षी दलले जित्दैन भन्ने आयो भने त्यस्तो ठाउँमा फ्रेन्डली प्रतिस्पर्धा पनि हुन सक्छ । तर हामी एक अर्कामा मिलेनौं भनेर एमालेसँग गठबन्धन गर्न मिल्दैन ।’
आपसमा प्रतिस्पर्धा गर्दा पनि गठबन्धनभित्रकै दलका उम्मेदवार निर्वाचित हुने स्थितिमा तालमेल नहुन पनि सक्ने प्रवक्ता महतले बताए ।
कार्य सम्पादन समिति बैठकमा महानगर र उपमहानगरपालिकाको हकमा कसरी भागबन्डा गर्ने भन्नेबारेमा छलफल भएको महतले जानकारी दिए । उनका अनुसार महानगर र उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा तालमेल गर्नैपर्ने निर्देशन केन्द्रबाट दिइने छैन । तर, जहाँ तालमेल हुन सक्दैन ती ठाउँको रिपोर्ट केन्द्रमा दिनुपर्ने उनले बताए ।