बैशाख ३० गते हुनलागेको स्थानिय निकाय निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई जनमत पार्टीले आज (सोमवार) टिकट बाँड्ने भएको छ ।
निर्वाचनमा उम्मेदवार हुने पालिका प्रमुख र उपप्रमुखको टिकट वितरण आज गर्न लागिएको हो ।
जनमत पार्टीले तय गरेका उम्मेदवारहरुलाई जनकपुरस्थित केन्द्रीय सचिवालयबाट मनोनयन पत्र वितरण गर्ने पार्टी महासचिव चन्दन सिंहले जनाएका छन् ।
महासचिव सिंहका अनुसार टुंगो लागिसकेको उम्मेदवारहरुलाई आज टिकट बाडिने तथा बाकीं उम्मेदवार र वडाध्यक्षहरूको मनोनयन पत्र वितरण वैशाख ७ र ८ वितरण गरिने छ ।
जनमतले मधेश प्रदेशका उम्मेदवारलाई केन्द्रीय सचिवालय जनकपुरधाम, प्रदेश नम्बर १ का उम्मेदवारलाई विराटनगर र लुम्बिनी प्रदेशका उम्मेदवारलाई भैरहवाबाट टिकट वितरण गर्ने तयारी गरेको छ ।
सिंहका अनुसार उम्मेदवारहरूले मनोनयन पत्र लिनु अगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ ।
उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च आफैंले बेहोर्नु पर्ने पार्टीले निर्णय गरेको छ । चुनावमा जनमत पार्टीले सबै ठाउँमा उम्मेदवारी दिने जनाएको छ ।