केन्द्रीय नेतृत्वले स्थानीय तह चुनावमा लागि सत्ताधारी दलहरुबीच तालमेलको अन्तिम कसरत गरिरहँदा नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरु गठबन्धनको विपक्षमा उभिएका छन् ।
वीरगञ्ज महानगरमा गठबन्धन मान्य नहुने र नेपाली कांग्रेसले नै आफ्नो उम्मेदवार उठाउनुपर्ने पक्षमा विज्ञप्तिमावाजी हुनु पछाडिको मुख्य कारण के हो त ? सम्भावित गठबन्धनले मेयरको रुपमा जनता समाजवादी पार्टीका राजेशमान सिहंलाई समर्थन गर्ने सम्भावना देखिएपछि कांग्रेसजन विरोधमा उत्रिएका हुन् ।
वीरगञ्जका कांग्रेसीहरु राजेशमानको विवादास्पद छवि र उनको गुण्डगर्दीको पृष्ठभूमिका कारण उनलाई मेयरको उम्मेदवारको रुपमा स्वीकार्न नसकिने बताउँछन् ।
लोकतान्त्रिक समाजवादीबाट टिकटकै आशमा नेकपा एमालेका छिरेका राजेशमान त्यहाँ टिकट नपाउने देखेपछि हठात जसपामा हाम्फालेका थिए । एमालेले मेयरको उम्मेदवारको रुपमा वाहालवाला मेयर विजयकुमार सरावगीलाई पार्टीमा भित्र्याएपछि राजेशमान आफु मेयरको टिकटमा असुरक्षित महशुस गरेर एमाले छोडेर जसपा प्रवेश गरेका थिए ।
उनको प्रचारको शैली, अमर्यादित भाषाको प्रगोग र आफुलाई गुण्डा नाइकेको रुपमा प्रस्तुत गरेपछि उनलाई नेतृत्व दिन नसक्ने र त्यस्तो व्यक्तिलाई मत हाल्न बाध्य पारिनु आम कार्यकर्ताको घोर अपमान हुने बुझाई कांग्रेस जिल्ला नेतृत्वको छ । राजेशमानको विवादास्पद छविका कारण जनमानसमा नकारात्मक प्रभाव देखिएको हुँदा उनलाई आम कांग्रेस कार्यकर्ताले उम्मेदवारको रुपमा स्वीकार्न सकेका छैनन् ।
उनीमाथि बारा र पर्साका उद्योगी व्यापारीसँग दादागिरी गरि रकम असुल्ने गरेको, ठेक्कापट्टामा दादागिरी र विगत चुनावमा आफू मेयरमा जितेर आएमा महानगरमा ठेक्का दिलाइदिने आश्वासन दिएर आफ्नै कार्यकर्ताहरुसँग करोडौं रकम उठाएको आरोप लाग्ने गरेको छ ।
आफूलाई मेयरको प्रत्यासीको रुपमा प्रचार गरिहेका राजेशमानले वीरगञ्जको विकास र समृद्धिका लागि कुनै एजेण्डा नबोकेको र त्यो दृष्टिकोण उनीमा नभएको बुझाइ कांग्रेसीहरुको छ । चुनावी एजेण्डाका नाममा अन्य पार्टीबाट मेयरका प्रत्यासीलाई गालीगलौजबाहेक अन्य रचनात्मक विचारसमेत दिन असक्षमलाई मेयरको उम्मेदवारको रुपमा बोक्न नसकिने कांग्रेसीहरु बताउँछन् ।
राजेशमानको सट्टामा राम्रो उमेदवार उठाएमा जसपालाई नेतृत्व दिन सकिने जवाफ कांग्रेसले गठबन्धनका दलमा कुरा राखेको बुझिएको छ । कांग्रेसले जसपा पर्साका अध्यक्ष रामनरेश यादवलाई उम्मेदवार वनाइ राजेशमानको विकल्प दिन भनेको बुझिएको छ । राजेशमान भए गठवन्धनमा भोट नदिने चेतावनी गठबन्धनका अन्य दलहरुले पनि दिएका छन् ।
राजेशमानलाई टिकट दिलाउने शर्तमा दलमा छिराएको जसपाभित्रकै विचारशील नेता कार्यकर्ताले पचाएका छैनन् । स्वार्थको सौदाबाजी गर्ने जसपाका केही स्थानीय नेतामात्रै राजेशमानको पछि लागेका छन् । नेपाली कांग्रेस र जसपाका पर्सा जिल्ला नेतृत्वले निकालेको विज्ञप्तिले पनि राजेशमानलाई उम्मेदवारको रुपमा स्वीकार गर्न नसकेको प्रष्ट हुन्छ ।
कांग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र जसपा पर्सा अध्यक्ष रामनारायण प्रसाद सिंहले प्रेस विज्ञप्ति जारी गरी वीरगञ्ज महानगरपालिकासहित १४ वटै पालिकामा छुट्टाछुट्टै चुनाव लड्ने सहमति सार्वजनिक गरेका थिए । उनीहरुको विज्ञप्ति वीरगञ्जमा गठबन्धन अस्वीकारमा केन्द्रित थियो ।
नेपाली कांग्रेसका विभिन्न तहगत समितिहरुले यसअघि नै गठबन्धन मान्य नहुने भन्दै केन्द्रीय नेतृत्वलाई चेतावनीसहितको विज्ञप्ति निकालिसकेका छन् ।