आगामी शुक्रबारबाट हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले सबै जिल्लाका जिल्ला परीक्षा समन्वय समितिले सम्पूर्ण तयारी गरेकाले अब विद्यार्थीले वैशाख ९ गतेदेखि परीक्षा दिन मात्र बाँकी रहेको जानकारी दिए ।
बोर्डले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समिति बनाएको छ । विगत दुई वर्षमा कोभिड १९ का कारण भौतिक रूपमा एसईई परीक्षा हुन नसकेपछि आन्तरिक रूपमा मूल्यांकन गरिएको थियो । त्यसैले कोभिड पछिको यो पहिलो विद्यालयको राष्ट्रियस्तरको परीक्षा हो ।
शैक्षिक सत्र ०७८ को यस परीक्षामा ५ लाख १४ हजार ७६० विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा २ हजार ७ परीक्षा केन्द्र तोकिएका छन् भने केही समस्या परे समन्वयका लागि त्यही केन्द्रबाट एउटा उपकेन्द्र तोकिएको छ । यी केन्द्रमध्ये एउटा केन्द्र जापानमा पनि हुने छ ।
नियमित परीक्षार्थीतर्फ ४ लाख ८८ हजार ७४२ रहेका छन् भने ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाका लागि ११ हजार ४५४ परीक्षार्थीहरू सामेल हुनेछन् । प्राविधिक धारतर्फ १४ हजार ५६४ परीक्षार्थी सहभागी हुनेछन् ।
परीक्षामा ११ हजार ६१५ विद्यालय सामेल हुनेछन् भने २९९ वटा प्राविधिक धारका विद्यालय रहेका छन् । यस्तै, परीक्षामा मनाङ जिल्लाबाट ४३ विद्यार्थी सहभागी हुँदैछन् ।