सत्ता गठबन्धनको बैठक आज पुन: बस्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँटमा केही दिन यताको प्रयासले सार्थकता पाउन नसक्दा बैठक पुन: बस्न लागेको हो ।
आज दिउँसो ३ बजेबाट सुरु भएको गठबन्धनको बैठक साँझ ७ बजेपछि सकिएको थियो । बैठकमा महानगर र उपमहानगरबारे समग्रमा छलफल भइरहेको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
दिउँसोबाट बसेको बैठक केही बेर रोकिएर पुन: बस्न लागेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार गठबन्धनको अर्को बैठक आजै राति १० बजे पुन: बस्ने छ । तर सरकारका प्रवक्ताले भने बैठक जारी हरेको प्रतिक्रिया दिएर बाहिरिएका थिए ।
महानगरको विषयमा मोटामोटी सहमति भए पनि उपमहानगरका विषयमा अब छलफल हुने स्रोतको भनाइ छ । सोमबार दिनभर बस्दा सहमति हुन नसकेपछि आज दिउँसो तीन बजेदेखि गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको थियो ।
सिट बाँडफाँटका विषयमा निष्कर्षको नजिक पुगेको कार्कीले जानकारी दिए । आफूहरु ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरिरहेको उनले बताए ।