स्थानिय निकायको निर्वाचन नजिकिदै छ । बैशाख ३० गते देशका ७५३ पालिकाहरुमा एकै पटक हुनलागेको निर्वाचनकालागी दलहरु उम्मेदवार छान्न व्यस्त छन् ।
उम्मेदवार छनौटसंगै जनतालाई प्रतिबद्धता गर्ने पुरानो परम्परा अहिले पनि कायमै छ । आफुहरु जिते जनताका लागी विभिन्न कामहरु गर्ने चुनावी वाचा गरिरहंदा नेपालमा समेत भारतको जस्तै निःशुल्क वाचाको राजनिती प्रवेश गरेको छ ।
मंगलवार मात्रै नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको एक कार्यक्रममा बोल्दै आफुहरुको उम्मेदवारलाई जिताए हरेक घर परिवारलाई मासिक २ सय युनिट विजुली निःशुल्क उपलब्ध गराउने बताएका छन् ।
नेकपा (गौरवशाली) पार्टीसँगको एकता कार्यक्रममा अध्यक्ष नेपालले ३७ बुंदे घोषणापत्र सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
घोषणापत्रमा प्रत्येक घर परिवारलाई मासिक २ सय युनिट बिजुली उपलब्ध गराउनेदेखि घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्डिङ गर्नेलगायतका योजना समेटिएका छन् ।
त्यस्तै, घोषणापत्रमा जनताको अधिकार, निःशुल्क स्वास्थ्योपचार, निःशुल्क खानेपानी, एक घर एक धारा, हरेक वार्डमा खेल मैदान, हरेक पालिकामा पुस्तकालय बनाउने, प्रत्येक घर घरमा एक वर्षभित्र रिपोर्ट कार्ड बाँडिने, भ्रष्टाचार निर्मुल पार्न ेलगायतका कार्यक्रम समावेश छन् ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपालले समेत आफ्नो घोषणापत्रमा निःशुल्कका घोषणाहरुलाई प्राथमिकता दिएको छ ।
पार्टीले जारी गरेको घोषणापत्रमा सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको २०० रुपियाँसम्मको खानेपानी बिल निःशुल्क गरिने प्रतिवद्धता जनाएको छ ।
त्यस्तै आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजार रुपियाँको अनुदान दिइने प्रतिबद्धता समेत जसपाले जनाएको छ ।
हालसम्म यि २ दलले आफ्नो घोषणापत्र मात्रै सार्वजनिक गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोसपा लगायतका दलहरुले समेत आफ्नो घोषणापत्रमा यस्तै जनलुभावन प्रतिबद्धताहरु गर्ने बुझिएको छ ।