मेयर नपाएपछि कांग्रेस पोखरा महानगर समितिले विद्रोहको तयारी गरेको छ ।
सत्ता गठबन्धनमा सिट बाँडफाँड गर्दा पोखराको मेयर नेकपा एसको भागमा परेपछि कांग्रेस पोखरा महानगर समितिले विद्रोहको तयारी गरेको हो ।
कांग्रेस पोखरा महानगर समितिले बुधबार कास्की पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । महानगर समितिका सभापति सुरेन्द्र बिजुक्छे नेतृत्वको टोलीले जिल्ला समिति कार्यालयमा तालाबन्दी गरेको हो ।
साथै, मेयर र उपमेयरसमेत सबै वडामा आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ ।
‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ।’
मंगलबार काङ्ग्रेस सभापति शेरबहादुर देउवाले काङ्ग्रेस गण्डकी सभापति शक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर आफू समस्यामा रहेकोले पोखरा समाजवादीलाई दिनुपर्ने बताएका थिए ।