ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतीय नागरिक बृजकुमार महतो रहेको प्रहरीले जनाएको छ । बाँकी सात जना घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
घाइतेहरुको पाटन अस्पताल र बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । दुई दर्जनभन्दा बढी कामदार भए पनि अन्य कामदार बाहिरी क्षेत्रमा भएकाले ठूलो दुर्घटना नभएको र विष्फोटनले उद्योगमा क्षति पुगेको छ ।
यस्तै, गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन् ।