स्थानिय निकाय निर्वाचन नजिंकिदै गर्दा दल बदल्ने र प्रवेश गर्नेहरुको संख्यामा ह्वातै बढोतरी भएको छ । मधेस प्रदेशको बारा जिल्लामा त पार्टी परित्याग र प्रवेश गर्नेको लहर नै चलेको छ ।
आज (बिहीवार) पनि दल बदल्ने क्रम जारी छ । यसै क्रममा जनता समाजवादी पार्टी (जसपा) बाराको महागढीमाई नगरपालिका वडा नं.१० को वडाध्यक्षमा जितेका चन्दन जैसवाल सहित करिब ५० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जैसवालसंगै जसपाबाट बारा निर्वाचन क्षेत्र नं.२ को (क) बाट निर्वाचित प्रदेशसभा सदस्य शारदाशंकर प्रसाद साहका छोरा राजाबाबु साह समेत एमालेमा प्रवेश गरेका छन् ।
यसअघी जसपाबाटै महागढीमाई नगरपालिकाको मेयर पदमा दावी गरिरहेका साहलाई पार्टीले उम्मेदवार बनाउने अवस्था नदेखिएपछी मेयरको उम्मेदवार बन्नकै लागी उनी एमालेमा प्रवेश गरेको बुझिएको छ ।
महागढीमाई नगरपालिकाको गञ्जभवानिपुरमा आयोजित एक कार्यक्रमकाबिच उनी एमालेमा प्रवेश गरेका हुन् ।
साहलाई पार्टी प्रवेश गराउन एमाले नेताहरु अच्युत मैनाली, बलबिर चौधरी, शशिकान्त मिश्रा लगातका पुगेका थिए ।
यसअघी २०७४ सालको स्थानिय निकाय निर्वाचनमा सोही पालिकाको मेयर लडेका प्रदेशसभा सांसद शारदाशंकर साह काँग्रेसका उम्मेदवारसंग पराजित भएका थिए ।
मेयर पदमा पराजित भएपनी जसपाले उनलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थिए । ठुलै आर्थिक चलखेलमा हारेका व्यक्तिलाई पुनः उम्मेदवार बनाईएको र त्यसमा जसपाकै जिल्ला तथा केन्द्रिय नेतृत्वहरुको संलग्नता रहेको जसपाकै स्थानिय नेताहरुको आरोप छ ।