नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि पाँचजनाको नाम सिफारिस गरेको छ ।
कांग्रेस काठमाडौं महानगर समितिले बिहीबार मेयरका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेहरुमा नगर समिति सभापति नीलकाजी शाक्य, सचिव सुशासन वैद्य, वर्तमान नगर उपप्रमुख हरिप्रभा खड्गी, कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिजना सिंह र नेता प्रगतिमान रञ्जित रहेका छन् ।
त्यस्तै उपमेयरका लागि महानगर समितिकी उपसभापति सुशिल ढकाल र डा अमित प्रधान शाक्यको नाम सिफारिस गरिएको छ ।
सत्ता गठबन्धनको केन्द्रीय बैठकले भने महानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का साझा उमेदवार उठाउने निर्णय गरिसकेको छ ।