विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानम गेहब्रेयसस नेपाल पुगेका छन् ।
भारत भ्रमण सकेर उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा तीनदिने भ्रमणका लागि बिहीबार नेपाल पुगेका हुन् । उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललगायतका अधिकारीले स्वागत गरे ।
स्वास्थ्यमन्त्री खतिवडाले महानिर्देशक गेब्रेयसससँग कोरोनाभाइरस महामारी नियन्त्रणमा भएका कामकारबाहीको समीक्षा गर्न उपयोग गरिने जानकारी दिए ।
यो अवसरलाई कोरोनाभाइरस महामारी नियन्त्रणमा भएका कामकारबाहीको समीक्षा गर्न पनि उपयोग गरिने उनले बताए । आगामी दिनमा विश्व स्वास्थ्य सङ्गठन र नेपालबीच स्वास्थ्यमा हुन सक्ने साझेदारीका क्षेत्रबारे समेत कुराकानी हुने उनले बताए ।
महानिर्देशक गेब्रेयसस डब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् । साथै, उनले गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।