नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले थप मजबुत भएको बताएका छन् ।
ओलीले संसद विघटन गरेर नयाँ जनादेश लिनखोजेकोले एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको बताएका हुन् ।
उनले संसद बिघटन गलत थियो भन्ने अभिव्यक्ति दिनेहरुको खुलेर विरोध गर्न एमालेको केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरूलाई आग्रह गरेका छन् ।
एमाले केन्द्रीय सल्लाहकार परिषद्को बिहीबार बसेको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते आफु प्रधानमन्त्री पदमा रहेका बेला गरिएको प्रतिनिधिसभा विघटनको भुलेर पनि विरोध नगर्न निर्देशन समेत दिएका छन् ।
प्रतिनिधिसभा विघटन गरी ठीक निर्णय नलिएको भए एमाले पुष्पकमल दाहाल र माधवकुमार नेपालको व्यक्तिगत र पारिवारिक इच्छापूर्तिमा लागेर समाप्त हुने थियो भन्ने ओलीको भनाइ थियो ।
एमालेकै केही नेताहरुले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने गरेको उल्लेख गर्दै उनले त्यस्ता खालका गलत कुराहरू नगर्न सल्लाहकार परिषद्का सदस्यहरुलाई निर्देशन दिएका हुन् ।
एमालेले ठीक समयमा ठीक निर्णय गर्दै अगाडि बढिरहेको दाबी गर्दै ओलिले स्पष्टताका साथ, बिनाद्विविधा त्यसको प्रचार गर्नुपर्ने बताए ।
स्थानिय निकाय निर्वाचन नजिकिदैं जाँदा देशमा एमालेको लहर सिर्जना भएको भन्दै बैशाख ३० गतेको निर्वाचनमा एमालेको पक्षमा आश्चर्यजनक परिमाण आउने दावी गरे ।