नेकपा एमालेले शनिबार महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाउने भएको छ ।
आज बसेको एमाले सचिवालय बैठकले शनिबार महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको हो ।
प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आजको बैठकमा मेयर र उपमेयरका लागि सिफारिस भएको र शनिबार निर्णय हुने जानकारी दिए ।
उनले गण्डकीमा सरकार फेरबदलको सम्भावना रहेकोले त्यहाँका प्रदेश सांसदलाई स्थानीय तहमा उम्मेदवार बन्न नदिइने बताए ।
त्यस्तै, सरकार परिवर्तन हुन सक्ने सम्भावना कायमै रहेकोले लुम्बिनीमा पनि गण्डकीकै जस्तै निर्णय हुनसक्ने बताए ।
स्थानीय तहको उम्मेदवार बन्न हाल कायम रहेको पदबाट राजीनामा दिनुपर्ने प्रावधान छ ।