सत्तारूढ गठबन्धनबीच जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टीलाई दिने सहमति धनुषा काँग्रेसले नमान्ने भएको छ ।
जनकपुरमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) को मेयर उम्मेदवार बनाउने गठबन्धनको निर्णय नमान्ने उनीहरूले बताएका छन् ।
पटक–पटक केन्द्रिय नेतृत्वलाई जनकपुरमा काँग्रेसकै उम्मेदवार बनाउनुपर्ने माग गरिआएका उनिहरुले आफुहरुको मागलाई वेवास्ता गरिएको भन्दै सामूहिक राजीनामा दिएर स्वतन्त्र उम्मेदवार खडा गर्ने बताएका छन् ।
नेपाली कांग्रेस जनकपुरका नगर सभापति मनोज साहले आफूसहित दर्जनौं नेता कार्यकर्ताहरुले राजीनामा दिन लागेको बताए । राजीनामा घोषणा गर्न उनीहरूले शुक्रबार दिउँसो जनकपुरमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई बर्बाद गर्न लागेपछि जनकपुरमा कांग्रेस जोगाउन स्वतन्त्र भएर उम्मेदवारी दिन लागेको नगर अध्यक्ष साहले जनाए । साहले पार्टी नेतृत्व जनकपुरका नेता कार्यकर्ताको भावनाविपरीत गठबन्धन गरेको बताएका हुन् ।
पत्रकार सम्मेलन मार्फत स्वतन्त्र रूपमै उपमेयरसहित २५ वटै वडामा वडाअध्यक्षको उमेदवारसमेत घोषणा गरिने साहले बताए ।
यसअघि गठबन्धन गर्ने निर्णय सच्याउन केन्द्रीय नेतृत्वलाई २४ घन्टे अल्टिमेटम दिएको तर नेतृत्वले माग सम्बोधन नगर्ने भएपछि आफूहरू विद्रोह गर्ने निर्णयमा पुगेको उनले बताए ।