सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।
धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी दर्ता गराउन हमाल बाजागाजा र र्यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने मूलमन्त्रका साथ हमालले फागुन १९ गते धनगढीको मेयरका लागि उम्मेदवारी घोषणा गरेका थिए । मेयरमा विजयी भए सेवासुविधाको नाममा धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ पनि नलिने घोषणा गरिसकेका छन् ।
०७४ सालको चुनावमा पनि हमाल मेयर पदमा स्वतन्त्र उम्मेदवार थिए । त्यतिबेला हमाल ११ हजार ५ सय २७ मत ल्याएर दोस्रो भएका थिए। उनी काँग्रेसका नृपबहादुर वडसंग दुई हजार सात सय मतले पराजित भएका थिए ।