नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार रत्नपार्कको शान्तिवाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा स्थापित र उपमेयरमा डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेश सांसदबाट राजीनामा दिँदै स्थापित मेयरको उम्मेदवार बनेका हुन् ।
त्यस्तै यसअघि स्वतन्त्र रूपमा मेयरमा उठ्ने घोषणा गर्दै प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेकी उपमेयरकी उम्मेदवार डंगोल सन् २०११ की मिस नेवा हुन् ।
उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै शाक्यले आफू दोब्बर मतले जित्ने दाबी गरे । २०५४ सालको स्थानीय तह निर्वाचनमै ८४ हजार मत ल्याएर विजयी भएको स्मरण गर्दै स्थापितले यसपालि त्योभन्दा दोब्बर मत ल्याएर निर्वाचित हुने ठोकुवा गरे ।
उनले भने, ‘काठमाडौंमा नेपाली कांग्रेसको स्थायी भोट ४५ हजार रहेको, माओवादीले २०७४ मा पाएको ७ हजार कायम राख्ने र एकीकृत समाजवादीले तीन हजार थप्ने हो भने पनि ५५ हजार मात्र पुग्ने हो । ८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता ? गेम इज ओभर ।’