भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुने काठमाडौंमा नायव सुब्बा (ना.सु.) पदमा कार्यरत (हाल निलम्बन) देवी बहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गैरकानूनी रुपमा १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ आर्जन गरेको आरोपमा उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो ।
थापाले २०५६ देखि २०७६ सम्म सरकारी जागिरबाट २ करोड १ लाख कमाएको तर ३ करोड ८९ लाख खर्च गरेको हुँदा १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको देखिएको अख्तियारले दाबी गरेको छ । उनीविरुद्ध बिगो बमोजिमको जरिवाना र कैद सजाय माग दाबी गरिएको छ ।
उनको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफु, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरेको, परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी लगायतका चलअचल सम्पत्तिहरु खरिद गरेको, विभिन्न उद्योग तथा फर्महरुमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा एवं घर निर्माण गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी निजको बाबु कृष्ण बहादुर, आमा चन्द्र माया र श्रीमती विमसा राउतको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति जफत गर्न पनि अख्तियारले अदालतमा माग गरेको छ ।