मेयर बन्ने भन्दै विष्णुप्रसाद भुसालले केही दिनअघि उपसचिवबाट राजीनामा दिए ।
उनले नेपाली कांग्रेसबाट नवलपुरको देवचुली नगरपालिकामा मेयरमा उठ्ने भन्दै उपसचिवबाट राजीनामा दिएका थिए । कांग्रेसले टिकट दिने भनेपछि उनी राजीनामा दिएर जिल्ला गएका थिए । तर, मनोनयन दर्ताको अन्तिम सयमसम्ममा पनि उनले मेयरको टिकट नपाएपछि समस्यामा परेका छैनन् ।
कांग्रेसले देवचुलीमा अशोक बस्ताकोटीलाई मेयरको टिकट दिएको छ ।
मेयर बन्न उपसचिवबाट राजीनामा दिए पनि टिकट नपाएका उनी भन्छन्, ‘टिकट पाइएन । राजनीति भन्ने चिज गाह्रो हुँदो रहेछ । सरकारी जागिरभन्दा राजनीति धेरै कठिन रहछ ।’
यद्यपी, उनले दिएको राजीनामा भने स्वीकृत भइसकेको छैन । त्यसकारण उनी राजीनामा फिर्ता लिने कि भन्नेतर्फ सोचिरहेका छन् । तर, राजनीतिमा लाग्ने भनेर राजीनामा दिएका उनलाई जागिरमा फर्किन पनि नैतिक संकट छ ।
भुसालले अगाडि थपे, ‘राजनीति भनेको निश्चित हुँदैन रहेछ, सम्भावनाको मात्रै खेल हुने रहेछ । एउटा प्रतिस्पर्धा थियो, अरुले नै बाजी मार्नुभयो । यो विषयमा म अहिले थप केहि भन्दिन । म निरन्तर राजनीति मै हुन्छु होला, कांग्रेसबाट नै राजनीतिमा सक्रिय हुन्छु कि । आजलाई यति मात्रै बोल्छु ।’