सैन्य शासनमा रहेको म्यान्मारको एउटा अदालतले गोप्य सुनुवाइपछि नेत्री आङ सान सू चीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।
सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कूमा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छन् । सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ ।
उनले सबै आरोपहरूको अस्वीकार गरेकी छन् भने अधिकारकर्मीहरू अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँछन् ।
राजधानीस्थित अदालतमा भएको सुनुवाइमा नागरिक उपस्थिति नहुने गरी बन्द ढोकाभित्र भएको थियो र सू चीमा वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो ।
बुधवार अदालतले उनलाई म्यान्मारको सबैभन्दा ठूलो सहर याङ्गुनका पूर्वप्रमुखसँग छ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको मुद्दामा दोषी ठहर गरेको हो ।
उनलाई पाँच वर्षको जेल सजाय तोकिएको छ । यो सजायपछि उनको कूल जेल बस्नुपर्ने समय ११ वर्ष पुगेको छ ।
गत डिसेम्बरमा उनलाई कोभिड नियम तोडेको मुद्दामा र ज्यानुअरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो ।
सू चीमाथि अझै १० अन्य भ्रष्टाचारका मुद्दाहरू छन् र ती प्रत्येकमा उनलाई अधिकतम १५ वर्षको जेल सजाय हुन सक्छ । उनीमाथि चुनावमा धाँधली गरेको र राज्यको गोप्य सूचना चुहाएको मुद्दा पनि छ ।
उनका समर्थकले उनलाई जीवनभर जेल हाल्नका लागि सैन्य शासकले उनीमाथि गलत मुद्दा लगाएको मान्छन् । सबै मुद्दामा दोषी ठहरिए उनलाई १९० वर्षसम्म जेल सजाय हुनसक्ने आकलन गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घ र अन्य अधिकार समूहले अदालती कारबाहीलाई नाटक बताएका छन् । म्यान्मारको सैन्य शासकले भने सू चीले निष्पक्ष सुनुवाइ पाएको दाबी गर्छ । बीबीसी