नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।
आज काठमाडौंमा भएको एक कार्यक्रममा उनले आफूलाई क्विन्टल भन्ने ओलीले पाउ (साना दल)सँग पनि तालमेल गर्न नछोडेको भन्दै कटाक्ष गरे ।
उनले भने, ‘क्विन्टल भन्नेले पाउ पनि छोडेको छैन । विप्लवदेखि परिवार दलसँग पनि तालमेल गर्न छोडेका छैनन् ।’
उनले बालुवाटारमा गठबन्धन बैठक बसिरहँदा एमालेका नेता बाहिर ढुकेर बस्ने गरेको बताए । उनले अगाडि भने, ‘गठबन्धनको बैठक बाहिर एमालेका नेता ढुकेर बसेका हुन्छन् । जिल्लामा साथीहरुको बेहाल छ । तर, ठूला नेता गठबन्धन गठबन्धन भनेर धारे हार लगाइरहेका छन् ।’
उनले कांग्रेस घोषणापत्रमा गफ, हावा, उडन्ते र गर्न नसकिने कुरा नसमेटिएको बताए ।
मंगलबार एक कार्यक्रममा बोल्दै ओलीले कांग्रेस घोषणापत्रलाई पागलहरुको प्रलाप, बकवास र गालीगलौजको दस्तावेज भएको आरोप लगाएका थिए ।
तर, ओली मुख छाड्नु के नयाँ कुरा भयो भन्दै प्रश्न थापाले गरे । यसअघि पनि सुशिला कार्की, गोबिन्द केसीलगायतलाई ओलीले पागल भनेको थापाले स्मरण गर्दै थापाले भने, ‘झुटको पर्दाफास गर्दा गाली गरेको हुन् । बुढा बा सनक्क सन्किँदै गर्दा शरिललाई अप्ठेरो होला ।’
उनले ओलीलाई बालकोटै गएर ट्युसन पढाउने घोषणा गरे । ओलीले कांग्रेसले आफ्नो समृद्ध नेपाल सुखी नेपालीको नारा चोरेको आरोप लगाएको भन्दै थापाले ओलीले भनेको समृद्धि र कांग्रेसले भनेको समुन्नतिमा धेरै भिन्नता रहेको बताए । ‘अलिकति भ्याएको बेला बालकोट गएर ट्युसन पढाउँछु । समृद्धिको आइडिया चोरेर लगिदेला भनेर अनिदो नबस्नु समृद्धि तपाईंकै आइडिया हो’ उनले भने ।
थापाले भने, ‘जसको मुखमा अंगार छ उसले ओकल्ने कालो नै हो । केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ ? केही पहिला सुशीला कार्की र गोविन्द केसीलाई पागल भन्नुभयो । अहिले हामीलाई । उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई गाली गर्ने नै पागल भनेर हो उहाँले । केपी ओलीलाई लजिक मन पर्दैन मेजिक मन पर्छ ।’
उनले पार्टीका असन्तुष्टिलाई थाती राख्दै बागी र स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरे ।