सरकारले कोभिड १९ विरुद्ध पूर्ण मात्रा खोप लगाएकालाई बुस्टर डोज लगाउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सङ्गीता मिश्रले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका वा जोन्सन एन्ड जोन्सन खोप लगाएकालाई बुस्टर खोप लगाउन आग्रह गरेकी हुन् ।
मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङ मार्फत प्रवक्ता डा.मिश्रले खोप लगाएको तीन महिना पूरा गरेका १८ वर्ष माथिका सबैलाई बुस्टर डोज लगाउन आग्रह गरिन् ।
छिमेकी देशहरूमा कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम जारी रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको हो ।
नेपालमा कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाउने १२ वर्षदेखि माथिका लक्षित जनसङ्ख्या ८४ प्रतिशत पुगेको समेत प्रवक्ता मिश्रले जानकारी दिइन् ।
यस्तै, देशैभरि आज ११ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ ।
५ हजार ८ सय ९१ नमुनाको परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।