गृहमन्त्री बालकृष्ण खाण चितवनका नेता तथा कार्यकर्तासँग छलफल र भेटघाट गर्न चितवन पुगेका छन् ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाणले आफूलाई चितवनका नेता, कार्यकर्ता तथा मतदाताप्रति पूर्ण विश्वास रहेको बताए । उनले भने, ‘मलाई विश्वास छ, उहाँहरूले गठबन्धनविरुद्ध दिएको उम्मेदवारी फिर्ता गर्नुहुनेछ । गठबन्धनलाई समर्थन गर्नुहुनेछ ।’
आफूभन्दा पनि कतिपय अग्रज नेता, कार्यकर्ता चितवनमा रहेको भन्दै उनहरूले आफ्नो उम्मेदवारी फिर्ता लिने कुरामा आफू ढुक्क रहेको मन्त्री खाणले बताए ।
वैशाख १६ गतेसम्म मनोनयन फिर्ता गर्ने समय रहेकोले असन्तुष्ट पक्षले दिएको मेयरको उम्मेदवारी फिर्ता हुनेमा आफू आश्वस्त रहेको मन्त्री खाणको भनाई छ ।
गठबन्धन विरुद्ध कांग्रेसको असन्तुष्ट पक्षले मेयर पदमा जगन्नाथ पौडेललाई उम्मेदवार उठाएपछि यसको विवाद मिलाउन खाण चितवन पुगेका हुन् ।