काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित फेरि विवादमा तानिएका छन् ।
बिहीबार एक कार्यक्रममा आफूलाई सोधेको प्रश्नको जवाफ दिँदा स्थापित विवादमा तानिएका हुन् ।
धुम्बाराहीस्थित नेशनल कलेजले बिहीबार आयोजना गरेको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ नामक अन्तरक्रिया कार्यक्रममा अभियानकर्मी भावना राउतले स्थापितलाई ‘मिटु’ अभियानका क्रममा उनीमाथि लागेको आरोपबारे प्रश्न सोधेकी थिइन् ।
राउतले ‘तपाईंमाथि आरोप लागिसकेपछि कि त खण्डन गरेर निर्दोष रहेको प्रमाणित गर्नुपर्यो नभए मेयर जस्तो पदमा बस्ने नैतिकता तपाईंलाई हुन्छ’ भनेर सोधेकी थिइन् ।
उक्त प्रश्नको जवाफ दिने क्रममा स्थापितले आक्रोशित हुँदै राउतलाई दुर्व्यवहार पनि गरे । राउतको प्रश्न दिने क्रममा स्थापितले भने, ‘यु आर नाइस लेडी, तर तपाईंको थुतुनो ठीक भएन ।’
चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले आफूहरूमाथि स्थापितले यौन दुर्व्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए । आफूमाथि कुनै बेला भएको दुर्व्यवहारबारे विश्वभरका महिलाले आवाज उठाइरहेको त्यो समयमा रश्मिला र उज्जलाले पनि स्थापितबाट भएका यौन दुराचारको घटना बाहिर ल्याएका थिए । विश्वभरिका महिलाहरूले सुरू गरेको उक्त अभियान ‘मिटू’ भनेर चिनिएको थियो ।
तर, स्थापितले आरोपको बचाउ गर्दै आरोप लागाउने महिलालाई भ्रष्टाचार गरेकाले निकालिएको जवाफ दिएका थिए ।
अहिले स्थापितको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
स्थापित बेलाबेलामा विवादका कारण चर्चामा आइरहने पात्र हुन् । उम्मेदवारी दर्ताको क्रममा उनले विवादमा नआउने के केशव स्थापित भयो भन्ने अभिव्यक्ति दिएका थिए ।