यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि हिमालपारिको जिल्ला मनाङमा मतपत्र ल्याइएको छ ।
हिमाली जिल्ला मनाङमा हेलिकोप्टरबाट नेपाली सेनाले मतपत्र ढुवानी गरेको हो । जिल्लामा नेपाली सेनाले नौ हजार थान मतपत्र ल्याएको बताइएको छ । ती मतपत्र जिल्ला सदरमुकाम चामेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षितरूपमा राखिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
सुरक्षा संवेदनशीलताका आधारमा आयोगले हेलिकोप्टरको प्रयोग गरी मतपत्र जिल्लामा पठाएको जनाएको छ । निर्वाचन आयोगले हिमाली र बिकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ ।
निर्वाचनका लागि जिल्लामा २८ वटा मतदानस्थललाई नै मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकृत पुष्पराज शर्माले बताए ।