दुबईबाट आएको हिमालयन एयरको विमानको शौचालयमा २ किलो भन्दा बढी सुन लुकाएर ल्याएको आरोपमा ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुर लिम्चुङबुङ गाउँपालिका घर भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका घर भएका ४१ वर्षीय हेमबहादुर थापा, सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रालिबाट विमानमा सरसफाइ गर्ने सुपरभाइजर सप्तरी सुरुङ्गा नगरपालिका घर भएका ३६ वर्षीय ताराकान्त चौधरी र पाँचथर याङवरक गाउँपालिका घर भएका २८ वर्षीय भीमकुमार माबो रहेका छन् ।
सरसफाइ कर्मचारी माबो र तामाङले शौचालयभित्रको फोहोरसँगै रहेको दुई किलो ३३२ ग्राम सुनको बिस्कुट बाहिर ल्याएर बाँडेका थिए ।
तर, निस्कने क्रममा उनीहरूको सामान स्क्यानिङ गर्ने क्रममा पर्सभित्र टेपले बेरिएको सुन भेटिएको विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए ।
दुवै जनालाई सोधपुछ गर्ने क्रममा सुन तस्करीमा संलग्न अन्य तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको छ ।