नेपाली राष्टिय फुटबल टोलीका खेलाडी र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद समाधानका लागि तत्काल एन्फा केन्द्रीय समितिको बैठक बोलाउन माग गरिएको छ ।
वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ, उपाध्यक्षद्वय वीरबहादुर खड्का र कृष्णबहादुर थापा तथा केन्द्रीय सदस्य दावा लामाले शुक्रबार एक पत्र लेख्दै विवाद समाधानका लागि तत्काल एन्फा केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका हुन् ।
उनीहरुले भनेका छन्, ‘एसियन कप छनोट चरणको तयारीमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीहरू र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद अन्त्यत संवेदनशील विषय भएकाले तत्काल बैठक बसी निर्णय गर्नु पर्ने भएको हुँदा एन्फा केन्द्रीय समितिको बैठक यथाशिघ्र बस्नका लागि अनुरोध गर्दछौं ।’
होस्टेल बस्ने विषयमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग विवाद हुँदा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका ९ खेलाडीले क्याम्प छोडेका थिए ।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बारम्बार क्याम्प छोड्न भनेपछि बाध्य भएर क्याम्प छोड्नु परेको बताएका थिए ।