पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य पुनःरोकिएको छ ।
पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाको नागरिकले भोग्नुपरेको छ । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको हो ।
हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण विगत छ दिनदेखि सडकमै फोहोर रोकिएको छ ।
अठार स्थानीय तहको फोहोर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताइन् । उनका अनुसार २०७० सालदेखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहोर विसर्जनमा अवरोध हुँदै आएको छ ।
राईले भनिन्, ‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ । त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।’
उक्त स्थान भरिएकाले फोहोर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाउदै आएको छ ।
गत फागुन र चैत महिनामा मात्रै ३२ दिन फोहोर व्यवस्थापन हुन सकेको थिएन । वर्षाको समय नजिक आइसकेको र यसरी फोहोर व्यवस्थापन हुन नसक्ने हो भने ठूलो समस्या आउने देखिएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहोर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।